काठमाडौँ, १५ जेठ : काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि गर्ने परीक्षामा २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। कुल २६ हजार ८८८ आवेदकमध्ये २०८ जनाको फाराम अस्वीकृत गरिएको हो।
यही जेठ १७ गते हुने परीक्षाको प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्ने शिक्षा अधिकृत रामचन्द्र खड्काले बताए। रङ्गीन प्रिन्टको मुख्य उद्देश्य अर्को व्यक्तिले परीक्षा दिन नपाओस् भन्ने रहेको उनको भनाइ छ।
परीक्षार्थीहरूले काठमाडौँ महानगरको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी’ मा एसइईको सिम्बोल नम्बर र जन्म मिति प्रयोग गरी प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्।
प्रवेशपत्रसँगै फोटोसहितको परिचयपत्र (एसइई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकता प्रमाणपत्र) ल्याउनुपर्नेछ। ब्ल्याक एन्ड ह्वाइट प्रिन्ट वा स्पष्ट फोटो नभएको प्रवेशपत्र मान्य हुने छैन। परीक्षाको नियम उल्लङ्घन गरेमा कारबाही हुनेछ।
शिक्षा विभागले स्वच्छ तथा निष्पक्ष परीक्षाका लागि केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न गरेको छ। विद्यार्थीमा त्रास नपैद्योस् भनी सहजीकरण गर्न निर्देशन दिइएको छ। कक्षा १० सम्म वडास्तरीय समितिले छात्रवृत्ति सिफारिस गर्छ भने ११ र १२ को परीक्षा विभागले सञ्चालन गर्दै नतिजाका आधारमा सिफारिस गर्छ।




