पात्रो

रेडियो

समाचार खोजी

१० समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

साझा अर्थ संवाददाता २४ वैशाख २०८३, बिहिवार

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको हो।

समितिले जारी गरेको सूचनाअनुसार सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनिएको छ। तोकिएको दायित्व पूरा नगरे कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समितिका अनुसार घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो।

समितिले नामावली सार्वजनिक भइसकेका ऋणीहरूलाई मात्र नभई अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूलाई पनि समयमै कार्यालयमा सम्पर्क गरी दायित्व फरफारक गर्न आग्रह गरेको छ। अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामावली पनि क्रमशः सार्वजनिक गर्दै जाने समितिले जनाएको छ।

यसअघि समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र जमानीहरूलाई कर्जाको साँवा, ब्याज र हर्जना चुक्ता गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो। कर्जा असुलीलाई प्राथमिकतामा राख्दै आएको समितिले ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने कदम अघि बढाएको हो।

सहकारीमा रोकिएको बचत फिर्ता प्रक्रिया अघि बढाउन कर्जा असुली महत्वपूर्ण मानिएको छ। ठूला ऋणीको नामावली सार्वजनिक गर्ने समितिको पछिल्लो कदमलाई बचतकर्ताको रकम फिर्ता र दायित्व असुली प्रक्रियासँग जोडिएको दबाबमूलक उपायका रूपमा हेरिएको छ।

स्रोत : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सूचना

 

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ