पात्रो

रेडियो

समाचार खोजी

बागलुङमा तीन सय वर्ष पुरानो हनुमान नाच सम्पन्न

साझा अर्थ संवाददाता १७ वैशाख २०८३, बिहिवार

बागलुङ, १७ वैशाखः नेवारी समुदायमा सदियौंदेखि संरक्षित ऐतिहासिक ‘हनुमान नाच’ २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ। करिब तीन सय वर्ष पुरानो यो नाच नौ वर्षको अन्तरालपछि विसं २०८१ भदौ ११ गतेबाट सुरु भएको थियो।

हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठका अनुसार १९ पटक प्रदर्शन गरी मंगलबार बागलुङ बजारको हनुमान पौवामा आई नाच समापन गरिएको छ। आगामी तीन वर्षपछि पुन: नाच देखाउने योजना रहेको उनले जानकारी दिए।

यस नाचमा हनुमानजस्तै देखिने १३ जोडी युवाले विभिन्न १० तालमा नाच्दै टोलटोलमा प्रस्तुति दिने गर्छन्। शरीरमा रातो र सेतो पहिरन, पुच्छर र शिरमा ‘श्रीराम’ लेखिएको पट्टी सहितको पोशाक यसको विशेषता हो। नाचको मुख्य आकर्षणमा ‘वीर चढ्ने’ दृश्य रहेको छ, जहाँ हनुमानहरू अचेतजस्तै बनेर हल्लिन्छन्।

हनुमान नाच १९ पटक प्रदर्शनका क्रममा कुल ४२ जना युवा सहभागी भएका थिए। नाच बागलुङ महोत्सव, बसपार्क उद्घाटन, अतिथि स्वागत, गलकोटलगायत १४ वटा टोल पूजामा देखाइएको थियो।

मल्लकालीन भक्तपुरबाट सुरु भएको यो नाच विसं १७६८ मा नेवार व्यापारीसँगै बागलुङ आएको इतिहास छ। बीचमा हराएको नाचले २०१३ सालदेखि भने निरन्तरता पाएको प्रधानकजी ईश्वरप्रसाद मलेपतीले बताए।

बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले हनुमान नाच बागलुङको सांस्कृतिक पहिचान भएको बताए। कार्यक्रममा सहभागी कलाकार, वाद्यवादक र पदाधिकारीलाई सम्मान गरिएको थियो। खर्चिलो र व्यवस्थापन जटिल भएपछि यो नाच विस्तारै पाँच\सात वर्ष र हाल नौ वर्षमा प्रदर्शन गर्न थालिएको आयोजकले जनाएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ