काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्ने भएको छ।
बैंकका अनुसार मार्च १६ देखि मार्च २२, २०२६ सम्म देशका सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। बैंकका विभिन्न शाखा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
ग्लोबल मनि विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’ लाई आत्मसात गर्दै सञ्चालन हुने कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी गराइने बैंकले जनाएको छ।
वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा हालसम्म बैंकका ७० भन्दा बढी शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भइसकेका छन्।
बैंकका अनुसार हाल देशभर ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी १ हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेका छन्।
बैंकले नेपालभित्र बैंकिङ सेवा प्रदान गर्नुका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।