काठमाडाैः स्नो रिभर्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीय (आयोजना प्रभावित मात्र) तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले स्थानीयलाई ९ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने छन्। त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।