काठमाडौंः आयोजना प्रभावितकालागि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आवेदन खुलेको छ । आजबाट सो आइपीओ खुलेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।
कम्पनीले नियामक निकायबाट जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याइएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २६ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।