काठमाडौं । मुलुकमा अहिले रहेका वाणिज्य बैङ्कहरुको भीडमा एउटा अर्को बैङ्क थपिने भएको छ । अहिले सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरुमा एउटा थपिएर २१ हुने भएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट ख वर्गको इजाजत प्राप्त विकास बैङ्क मुक्तिनाथ विकास बैङ्कले वाणिज्य बैङ्कमा स्तरोन्नति हुने प्रक्रिया शुरु गरेसँगै वाणिज्य बैङ्कको संख्या बढ्ने भएको छ भने विकास बैङ्कको संख्या घट्ने भएको छ ।
राष्ट्र बैङ्कका अनुसार अहिले २० वटा वाणिज्य बैङ्क र १७ वटा विकास बैङ्क सञ्चालनमा रहेका छन् ।
मुक्तिनाथ विकास बैङ्कले आफ्नो १९ औं वार्षिक साधारणसभामार्फत वाणिज्य बैङ्कमा स्तरोन्नतिको लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको हो ।
यस्तै साधारणसभाले आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
बैङ्कको लाभांश मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।
साधारणसभामा विशेष प्रस्तावहरुको रुपमा बैङ्ककोे चुक्ता पूँजी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपियाँ पु¥याउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी बृद्धि पश्चात नेपाल राष्ट्र बैङ्कले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति लगायत रहेको बैङ्कले जनाएको छ ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैङ्कको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनुभएको थियो ।