काठमाडौंः पुँजी बजार लगानीकर्ताका संघसंगठनहरुले दोहोरो आईएसआईएन तत्काल लागु गर्न माग गरेका छन् । बुधवार पाँचवटा संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
विज्ञप्तिमा अन्तराष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईएसआईएन) सम्बन्धी निर्देशिका स्वागतयोग्य भएको भन्दै तत्काल लागु गर्न माग गरिएको छ । दोस्रो बजार कारोबारमा रहेका केही कम्पनीका संस्थापक सेयरधनीहरुले लकइन अवधि नसकिँदवै सेयर बिक्री गर्ने गरेको ति संगठनहरुको आरोप छ । केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आईएसआईएनको गलत प्रयोग गरी कम्पनीको संस्थापक सेयर, सर्वसाधारणमा परिणत नहुँदै दोश्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएको भन्ने विषयमा तत्काल छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।
जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघ ले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।