काठमाडौँ, १४ असार: नेपाल र चीनबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित उक्त कार्यक्रममा नेपालमा लगानी, व्यापार र पर्यटनका अवसरहरूबारे विस्तृत छलफल भएको थियो। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा कन्सुल सबिन भट्टराईले नेपालको व्यावसायिक वातावरण, पर्यटकीय आकर्षण र लगानीका प्रमुख क्षेत्रहरू समेटिएको प्रस्तुतीकरण राख्नुभएको थियो। कार्यक्रममा सिजाङ क्षेत्रका उच्च सरकारी अधिकारी, पर्यटन तथा व्यापार क्षेत्रका प्रतिनिधि र चिनियाँ लगानीकर्ताहरू सहित ११३ जनाको सहभागिता थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं सिजाङका कार्यकारी उपाध्यक्ष झाओ पेङले दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्ध सुधार्न महावाणिज्य दूतावासले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले नेपाललाई शान्त र सुन्दर गन्तव्यका रूपमा चित्रण गर्दै चिनियाँ व्यवसायी तथा पर्यटकहरूलाई नेपाल भ्रमण र लगानीका लागि प्रोत्साहन गर्नुभयो। महावाणिज्यदूत निरौलाले चीन सरकार र चिनियाँ जनताले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नेपाली भूमि कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो। सो अवसरमा निरौला र पेङबीच सीमा नाकाहरूमा व्यापार प्रवर्द्धन, पूर्वाधार विकास तथा सिजाङमा बस्ने नेपाली नागरिकका लागि भिसा र यात्रा अनुमति सहज बनाउने विषयमा केन्द्रित भई छुट्टै द्विपक्षीय छलफल समेत भएको थियो