काठमाडौँ : रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सञ्चालन गर्ने ‘रिलायबल समृद्धि योजना–२’ को निष्कासन आजदेखि खुला भएको छ।
यो बन्दमुखी सामूहिक लगानी कोष योजना हो। योजनाको निष्कासन वैशाख २९ गतेदेखि खुला भई छिटोमा जेठ १ गते बन्द हुनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि जेठ १२ गतेसम्म लम्बिन सक्नेछ।
योजनाअन्तर्गत कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाइ निष्कासन गरिनेछ। त्यसमध्ये ८५ करोड रुपैयाँ बराबरका ८ करोड ५० लाख इकाइ सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको छ।
बाँकीमध्ये १४ करोड रुपैयाँ बराबरका १ करोड ४० लाख इकाइ योजना व्यवस्थापक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ करोड रुपैयाँ बराबरका १० लाख इकाइ कोष प्रवर्द्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। बन्दमुखी योजना भएकाले निष्कासनपछि यसको इकाइ दोस्रो बजारमा कारोबार हुनेछ।