पात्रो

रेडियो

समाचार खोजी

नहर अतिक्रमण हटाउन चार सय घरटहरा भत्काइने

साझा अर्थ संवाददाता १७ वैशाख २०८३, बिहिवार

चन्द्रपुर (रौतहट), १७ वैशाखः बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ। आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई संरचना हटाउन आग्रह गरिसकेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा स्थानीयले विगत करिब २८ वर्षदेखि नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन्। सूचना जारी गरिए पनि अतिक्रमित संरचना नहटाइएकाले अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको आयोजना प्रमुख सन्तोष चौधरीले जानकारी दिए।

केही दिनभित्र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने छ। जलस्रोत तथा सिँचाइ विभागको निर्देशन तथा सरकारको एक सय बुँदे कार्यसूचीअन्तर्गत सार्वजनिक जग्गाको संरक्षण तथा अवैध कब्जा हटाउने अभियानका क्रममा यो कदम चालिएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख चौधरीका अनुसार चन्द्रपुर–१ स्थित बागमतीदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्म मूल नहर क्षेत्रको एक सय २५ मिटर (पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर) क्षेत्र खाली गर्नुपर्ने छ।

प्रमुख जिल्ला अधिकारी भुसालले स्वतः नहटाए संरचना भत्काइने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा सदस्य गणेश पौडेलले बागमती सिँचाइ आयोजना राष्ट्रिय गौरवको भएकाले व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सुनकोसी–मरिन डाइभर्सनबाट थप पानी ल्याउने योजना अघि बढेकाले नहर क्षेत्र खाली हुनुपर्ने आवश्यकता औँल्याए।

स्थानीय बासिन्दाले भने वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

 
42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ