पात्रो

रेडियो

समाचार खोजी

युद्धविराम लम्बिँदा पनि मध्यपुर्वमा तनाव यथावत्

साझा अर्थ संवाददाता ९ वैशाख २०८३, बुधवार

काठमाडौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधान गर्न युद्धविरामको म्याद अनिश्चितकालका लागि थप गर्नुभएको छ। पाकिस्तानको मध्यस्थतामा अघि बढिरहेको कूटनीतिक प्रयासलाई अवसर दिन यो निर्णय गरिएको ट्रम्पले बताए पनि मैदानी अवस्था भने अझै दबाबपूर्ण र अनिश्चित देखिएको छ। उहाँले इरानी बन्दरगाहहरूमाथि अमेरिकी नाकाबन्दी यथावत् राखिने स्पष्ट पार्दै होर्मुज जलडमरूमध्यमा नियन्त्रण कायम राख्नु रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको जोड दिनुभयो।

युद्धविरामको समयसीमालाई लिएर अन्योल देखिएको छ। पाकिस्तानले मङ्गलबार २३५० जिएमटीमा यसको अन्त्य हुने सङ्केत गरेको थियो भने इरानले ०००० जिएमटीमा समाप्त हुने बताएको थियो। तर सो समयसीमा नजिकिँदै गर्दा कुनै नयाँ सैन्य गतिविधि सार्वजनिक भएको छैन। इरानले ट्रम्पको निर्णयबारे औपचारिक प्रतिक्रिया दिएको छैन भने इस्लामाबादमा प्रस्तावित शान्ति वार्ता पनि अनिश्चित बनेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भ्रमण अन्तिम समयमा स्थगित गरिएको छ र सरकारी क्षेत्रलाई सुरक्षाकर्मीले घेराबन्दी गरेका छन्।

तेहरानका सर्वसाधारणले भने युद्धविराम हुँदै पनि जीवन सहज नभएको बताएका छन्। एक स्थानीय बासिन्दाले “यो पीडादायी युद्धविरामले जीवन झन् कठिन बनाएको” भन्दै वरपर कसैले पनि सहज अवस्था भोग्न नसकेको बताए। विज्ञहरूले इरानको सार्वजनिक मौनता वासिङ्टनमाथि दबाब सिर्जना गर्ने रणनीति हुन सक्ने बताएका छन्।

यसैबीच, मध्यपूर्वको अर्को मोर्चा पनि सक्रिय छ। इजरायल र लेबनानबीच बिहीबार वासिङ्टनमा नयाँ वार्ता हुँदै छ तर दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी छ। इजरायलले आफ्ना सेनामाथि हिजबुल्लाहले रकेट प्रहार गरेको आरोप लगाउँदै जवाफी आक्रमण गरेको जनाएको छ। लेबनानको सरकारी तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि हालसम्म कम्तीमा दुई हजार ४५४ जनाको ज्यान गइसकेको छ।

43 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु