पात्रो

रेडियो

समाचार खोजी

भारतीय प्रतिबन्धका कारण इलाममा चिया उद्योग बन्द हुँदै, किसान सङ्कटमा

साझा अर्थ संवाददाता ३१ जेठ २०८३, आइतवार

इलाम, ३१ जेठ : भारतले नेपाली चिया आयातमा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग सञ्चालन नगर्ने घोषणा गरेको छ। भारतीय बजारमा तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणको नाममा अलपत्र छ भने उद्योगमा नै सात लाख किलो तयारी चिया थन्किएको छ। भण्डारण क्षमता सकिएपछि उद्योग चलाउन नसकिने एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो।

भारतले सन् २०२६ मे १ देखि चिया आयातमा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्छ र नतिजा नआएसम्म बिक्री गर्न पाइँदैन। परीक्षणमा असफल भए चिया नष्ट वा फिर्ता ल्याउनुपर्छ। उद्योगी गोपाल कट्टेलले भन्नुभयो, “उत्पादित चिया बजार पुर्याउने बाटो नै बन्दजस्तै छ। सरकारले समयमै कूटनीतिक पहल नगरे अर्बौँको बजार गुम्ने खतरा छ।”

उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन्। सूर्योदय नगरपालिकामा २,९९५ चिया किसान छन् र ३३,६५५ रोपनीमा खेती हुन्छ। वार्षिक दुई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ। किसान राजन भट्टराई भन्नुहुन्छ, “उद्योग बन्द भए आम्दानी रोकिन्छ, रोजिरोटी हराउँछ।” नगरपालिकाले भारतीय अवरोध हटाउन तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ। वार्षिक चार अर्बभन्दा बढीको नेपाली अर्थोडक्स चिया भारत निर्यात हुन्छ।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु