काठमाडौः एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ बाँडफाँट बुधवार सम्पन्न भएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटमा गोलाप्रथाद्वारा भाग्यशाली ७ हजार ९ सय आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेको शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । नेपाल सरकारको नीति अनुसार कुल निष्कासनको १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।
बिक्री प्रबन्धकका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरुकालागि कुल ९० हजार ८ सय २० योग्य आवेदकबाट ११ लाख ८९ हजार ४ सय ५० कित्ता शेयरका लागि आवेदन परेको थियो । माग भन्दा करिब १५ गुणा बढी आवेदन परेका कारण झण्डै ८३ हजार आवेदकको हात भने रित्तो भएको छ । आवेदन प्रक्रियामा रित नपुगेका ५ वटा आवेदनहरू रद्द गरिएको क्यापिटलले जनाएको छ।
चितवनमा उत्पादन प्लान्ट रहेको एभरेष्ट कलर लिमिटेड रङ रोगन क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बोकेको कम्पनी हो । केयर रेटिङ्स नेपालले यस कम्पनीलाई 'CARE-NP BB' इस्युअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। वैदेशिक रोजगारीमा रहेकाहरूका लागि शेयर बाँडफाँट भएपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७ लाख ११ हजार कित्ता शेयर निष्कासन गर्ने तयारी अघि बढाएको छ । लगानीकर्ताले सिडिएससीको आइपिओ नतिजा पोर्टल, मेरो शेयर र मुक्तिनाथ क्यापिटलको वेबसाइटबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।